निर्वाचन प्रचार खर्च र चन्दा संकलनबारे आयोगको निगरानी तीव्र

Naya Sansar Online TV 62+ समाचार ( )
१३ माघ २०८२

निर्वाचन आयोगले चुनावी प्रचार–प्रसारका क्रममा राजनीतिक दल तथा उम्मेदवारहरूले आर्थिक सहयोग (चन्दा) लिएका छन् वा छैनन् भन्ने विषयमा सूचना संकलन सुरु गरेको छ। यस कार्यका लागि आयोगले छुट्टै अनुगमन संयन्त्रसमेत सक्रिय बनाएको छ। आयोगका अनुसार कोष तथा लेखा नियन्त्रक कार्यालयका प्रमुख कोष नियन्त्रकलाई निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी दिइएको छ। अनुगमन अधिकृतले राजनीतिक वित्त व्यवस्थापन तथा निर्वाचन खर्चसम्बन्धी गतिविधिमा निगरानी गर्नेछन्। निर्वाचन आयोगले तोकेको कार्यशर्त अनुसार निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा ३० बमोजिम राजनीतिक दल वा उम्मेदवारले चुनावी प्रचारका क्रममा निषेधित कार्यका लागि आर्थिक सहयोग लिएको छ वा छैन भन्ने विषयमा तथ्य संकलन गरिनेछ। चुनावी प्रचार–प्रसार अन्तर्गत गरिने कोणसभा, आमसभा तथा अन्य सार्वजनिक कार्यक्रमका लागि मञ्च निर्माण, व्यवस्थापन र त्यसमा भएको खर्चसमेत अनुगमनको दायरामा रहने आयोगले जनाएको छ। अनुगमन अधिकृतले संकलन गरेका विवरणहरू समेटेर जिल्लागत रूपमा पाक्षीक प्रतिवेदन तयार गरी जिल्ला आचारसंहिता अनुगमन समिति तथा केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पेश गर्नुपर्ने व्यवस्था गरिएको छ। आयोगका अनुसार यदि दल वा उम्मेदवारले निर्वाचन खर्चका क्रममा कानुनविपरीत कार्य गरेको पाइएमा अनुगमन अधिकृतको प्रतिवेदनका आधारमा जिल्ला आचारसंहिता अनुगमन समितिको संयोजकसँग समन्वय गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइनेछ।

प्रतिक्रिया

सम्बन्धित समाचार