पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभिरमा नयाँ ट्र्याक निर्माण सम्पन्न भएसँगै १८ दिनपछि राजमार्गमा दुईतर्फी सवारीसाधन सञ्चालनमा आएका छन् ।>
त्रिशूली नदीमा आएको बाढीले गत भदौ १४ गते कृष्णभिर क्षेत्रमा सडक कटान गरेपछि अवरुद्ध बनेको राजमार्ग बुधबार बिहान ६ बजेदेखि पूर्णरूपमा सञ्चालनमा ल्याइएको हो ।>
सडक कटान भएको स्थानमा नयाँ ट्र्याक निर्माण गरी केही दिनअघि हेभी सवारीसाधन पास गराएर परीक्षण गरिएको थियो । परीक्षणपछि पनि ट्र्याकलाई थप व्यवस्थित र सुरक्षित बनाउन निरन्तर काम गरिएको थियो ।>
जिल्ला प्रशासन कार्यालय धादिङले सम्बन्धित निकायहरूको निरन्तर प्रयासबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भएकाले दुईतर्फी यातायात सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।>
धादिङकी प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयका अनुसार कृष्णभिर क्षेत्रमा नयाँ ट्र्याक निर्माण भएसँगै राजमार्ग सञ्चालनमा ल्याइएको हो ।>
यद्यपि, पृथ्वी राजमार्गका विभिन्न स्थानमा सडक भासिने, पहिरो जाने तथा ढुंगा–माटो खस्ने जोखिम अझै कायम रहेकाले सवारी चालक र यात्रुलाई सावधानी अपनाउन प्रशासनले आग्रह गरेको छ ।>
जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहीबार बिहानैदेखि राजमार्गमा सवारीसाधनहरू सञ्चालनमा आएका छन् ।>
राजमार्ग सञ्चालनमा आएसँगै संघीय राजधानी काठमाडौं आउजाउ गर्ने यात्रु तथा यातायात व्यवसायीलाई सहज भएको छ । यसअघि राजमार्ग बन्द हुँदा ठूला तथा साना सवारीसाधनहरू वैकल्पिक सडकमार्ग प्रयोग गर्दै काठमाडौं आवतजावत गरिरहेका थिए ।>>