रौतहट । बौधिमाई नगरपालिका–८ सरमुजवास्थित श्री प्राथमिक विद्यालयका प्रधानाध्यापक दिनेश बैठा राजनीतिक दलको कार्यक्रममा सहभागी भएको विषयमा शिक्षा विकास तथा समन्वय एकाइ रौतहटले आवश्यक कारबाहीका लागि नगरपालिकालाई पत्राचार गरेको छ।>
केही दिनअघि सरमुजवामा आयोजित नेपाली कांग्रेसको वडा अधिवेशनलगायत राजनीतिक कार्यक्रममा प्रधानाध्यापक बैठा सहभागी भएको देखिने तस्बिर तथा भिडियो सामाजिक सञ्जाल र विभिन्न सञ्चारमाध्यममा सार्वजनिक भएपछि शिक्षा विकास तथा समन्वय एकाइ, गौरले घटनालाई गम्भीरतापूर्वक लिँदै बौधिमाई नगरपालिकालाई छानबिन तथा आवश्यक कारबाहीका लागि पत्र पठाएको हो।>
एकाइ प्रमुख तथा उपसचिव नन्द किशोर गुप्ताद्वारा हस्ताक्षरित पत्रमा असोज ७ गते बौधिमाई नगरपालिका, नगर कार्यपालिकाको कार्यालय सरमुजवालाई पत्र पठाउँदै घटनाबारे आवश्यक छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन अनुरोध गरिएको छ।>
पत्रमा शिक्षा तथा खेलकुद मन्त्रालय, विद्यालय शिक्षा शाखा, सिंहदरबार काठमाडौंको च.नं. १५४, मिति २०८३/०६/०६ गतेको परिपत्र तथा सामाजिक सञ्जाल र सञ्चारमाध्यममा प्रकाशित सामग्रीका आधारमा प्रधानाध्यापक बैठा राजनीतिक दलको कार्यक्रममा सहभागी भएको विषय उल्लेख गरिएको छ।>
यदि प्रधानाध्यापक बैठा पदिय आचरणविपरीत राजनीतिक दलको कार्यक्रममा सहभागी भएको पुष्टि भएमा शिक्षा ऐन, २०२८ (संशोधनसहित) को दफा १६ ‘ङ’ को उपदफा (५) को खण्ड ‘छ’ तथा शिक्षा नियमावली, २०५९ (संशोधनसहित) को नियम १३७ ‘ग’ तथा १४३ बमोजिम आवश्यक कारबाही गर्न नगरपालिकालाई पत्रमार्फत अनुरोध गरिएको छ।>
साथै, घटनाबारे नगरपालिकाबाट भएको कारबाही तथा त्यसको जानकारी शिक्षा विकास तथा समन्वय एकाइलाई उपलब्ध गराउनसमेत पत्रमा भनिएको छ। उक्त पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालय, सिंहदरबार काठमाडौं, शिक्षा विभाग, सानोठिमी भक्तपुर तथा जिल्ला प्रशासन कार्यालय रौतहटलाई समेत पठाइएको छ।>
सरकारले शिक्षक तथा सरकारी सेवामा कार्यरत कर्मचारीलाई राजनीतिक दलका गतिविधिमा संलग्न नहुन पटक–पटक निर्देशन तथा परिपत्र जारी गर्दै आएको भए पनि कतिपय शिक्षक तथा कर्मचारी राजनीतिक दलका सार्वजनिक कार्यक्रममा सहभागी हुने गरेको स्थानीयको गुनासो छ। यस्ता घटनामा सम्बन्धित निकायले निष्पक्ष छानबिन गरी आवश्यक कारबाही गर्नुपर्ने स्थानीयको माग छ।>
शिक्षा विकास तथा समन्वय एकाइले लिखित रूपमै आवश्यक कारबाहीका लागि पत्राचार गरिसकेको अवस्थामा अब बौधिमाई नगरपालिकाले प्रधानाध्यापक बैठाको विषयमा कस्तो कदम चाल्छ भन्नेमा स्थानीयको चासो बढेको छ।>
नगर प्रमुख प्रदीप कुमार यादव तथा प्रमुख प्रशासकीय अधिकृतले प्रधानाध्यापक बैठामाथि छानबिन तथा कारबाही प्रक्रिया अघि बढाउने वा नबढाउने विषयलाई समेत स्थानीयले चासोका साथ हेरिरहेका छन्।>
यद्यपि, प्रधानाध्यापक बैठाको राजनीतिक कार्यक्रममा सहभागिताबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतसँग प्रतिक्रिया लिन खोज्दा फोन सम्पर्क हुन सकेन। हालसम्म नगरपालिकाको आधिकारिक निर्णय वा प्रधानाध्यापक बैठाको पक्षबाट औपचारिक धारणा सार्वजनिक भएको छैन।>>