रौतहट–३ मा दुष्प्रचारको खेल: पराजयको भयले सक्रिय षड्यन्त्रकारी समूहप्रति पुनम यादवको कडा चेतावनी

Naya Sansar Online TV 62+ समाचार ( )
१५ फाल्गुन २०८२

रौतहट, १५ फागुन — प्रतिनिधिसभा निर्वाचनअन्तर्गत रौतहट क्षेत्र नं. ३ की उम्मेदवार पुनम यादव ले आफ्नो उम्मेदवारीविरुद्ध योजनाबद्ध रूपमा अफवाह र भ्रामक प्रचार फैलाइएको भन्दै कडा आपत्ति जनाएकी छन्। उनले पराजयको डरले आत्तिएको समूहले गाउँ–गाउँमा दलाल परिचालन गरी “उम्मेदवारी फिर्ता भइसकेको”, “केन्द्रबाट गोप्य सम्झौता भएको” जस्ता निराधार हल्ला चलाइरहेको आरोप लगाइन्।

नेपाली कम्युनिस्ट पार्टी बाट उम्मेदवार रहेकी यादवले आफ्नो उम्मेदवारी कानुनी रूपमा यथावत् रहेको स्पष्ट पार्दै भनिन्, “मेरो उम्मेदवारी खारेज भयो वा केन्द्रबाट सम्झौता भयो भन्ने कुरा सरासर झुट्टा, कपोलकल्पित र नियोजित दुष्प्रचार हो।”

उनले आफू भ्रष्टाचार, हत्या, तानाशाही, लुटतन्त्र र परिवारवादसँग कुनै सम्झौता नगर्ने स्पष्ट सन्देश दिँदै यस्ता आरोप आफ्नो राजनीतिक छवि धूमिल पार्ने नियतले फैलाइएको बताइन्। “हिम्मत छ भने खुला मञ्चमा आएर बहस गरौँ। पर्दा पछाडि बसेर अफवाह फैलाउने कायर राजनीति अब चल्दैन,” उनले चुनौती दिइन्।

यादवले निर्वाचन आयोगको आचारसंहिता र लोकतान्त्रिक मूल्य–मान्यताको सम्मान गर्दै स्वच्छ प्रतिस्पर्धामा चुनाव लडिरहेको बताउँदै मतदाता, बुद्धिजीवी, नागरिक समाज र शुभेच्छुकहरूलाई भ्रममा नपर्न आग्रह गरिन्।

उनले केन्द्रीय नेतृत्वलाई समेत सचेत गराउँदै पुष्पकमल दाहाल र माधव कुमार नेपाल लाई भ्रामक प्रचारमा विश्वास नगर्न आग्रह गरिन्। “म यादवकी छोरी हुँ, कसैको दबाब र षड्यन्त्रमा पर्नेवाली छैन,” उनले दृढ स्वरमा भनिन्।

यादवका अनुसार २०८२ फागुन २१ गते मत परिणाम सार्वजनिक नहुँदासम्म आफ्नो उम्मेदवारी पूर्ण रूपमा कायम रहनेछ। “वर्षौंदेखि भ्रष्टाचार, हत्याहिंसा, शोषण र अर्बौंको सम्पत्ति थुपारेर बसेको समूहको हार यसपटक निश्चित छ,” उनले दाबी गरिन्।

उनले अन्त्यमा रौतहट–३ का मतदातालाई ‘तारा छाप’मा मतदान गरी परिवर्तनको पक्षमा उभिन आह्वान गर्दै भनिन्, “जति भ्रम फैलाए पनि म पछाडि हट्ने छैन। जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो शक्ति हो।”

प्रतिक्रिया

सम्बन्धित समाचार