रौतहट — रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ आज दिनभर चुनावी उत्साहले गुञ्जायमान बन्यो। नेपाली कम्युनिष्ट पार्टी का तर्फबाट प्रतिनिधिसभा सदस्य पदकी उम्मेदवार पुनम यादवको समर्थनमा निकालिएको चुनावी र्यालीले उल्लेख्य जनसहभागिता जुटाउँदै शक्ति प्रदर्शन गरेको छ।>
आयोजकहरूका अनुसार, क्षेत्रका विभिन्न वडा तथा बस्तीबाट बिहानैदेखि झण्डा, ब्यानर र चुनाव चिन्ह अंकित प्लेकार्डसहित नेता–कार्यकर्ता तथा समर्थकहरू क्षेत्रका मुख्य बजार घुमेका थिए। नाराबाजी, गीत–संगीत र उत्साहपूर्ण माहोलबीच सुरु भएको र्याली बजार क्षेत्र, मुख्य चोक तथा आसपासका टोलहरू परिक्रमा गर्दै आमसभामा परिणत भएको थियो।>
र्यालीमा युवा, महिला तथा ज्येष्ठ नागरिकको उल्लेख्य उपस्थिति देखिएको थियो। सहभागीहरूले विकास, रोजगारी, शिक्षा र स्वास्थ्यलाई मुख्य एजेन्डा बनाउँदै नाराबाजी गरेका थिए।>
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार पुनम यादवले रौतहट–३ को समग्र विकास, पूर्वाधार विस्तार तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरिन्। उनले मतदातासँग परिवर्तन र परिणाममुखी नेतृत्वका लागि समर्थन मागिन्।>
रौतहट–३ मा आगामी प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूबीच प्रतिस्पर्धा तीव्र बन्दै गएको अवस्थामा आजको प्रदर्शनलाई नेकपा पक्षले आफ्नो पक्षमा बढ्दो जनसमर्थनको संकेतका रूपमा लिएको छ।>
अब मतपेटिकामा यस उत्साहको कति रूपान्तरण हुन्छ भन्ने कुराले नै अन्तिम परिणाम निर्धारण गर्नेछ।>>