जनकपुरधाम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भोटेकोशी बाढीबाट प्रभावित पहाडी क्षेत्रका नागरिकका लागि मधेसका जनताले राहत तथा सहयोग पठाएर सराहनीय काम गरेको बताएका छन्।
सिरहा र महोत्तरीमा पार्टीका कार्यक्रममा सहभागी भएर काठमाडौँ फर्किने क्रममा शुक्रबार साँझ जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै प्रचण्डले विपद्का बेला मधेस र पहाडबीच देखिएको सहयोग, सद्भाव र एकता प्रशंसनीय रहेको बताए।>
“अहिले पहाडका जनतालाई मधेसका जनताको साथ र सहयोग चाहिएको छ। त्यसका लागि मधेसका जनताले खुला हृदयले सहयोग गरिरहनुभएको छ,” उनले भने।>
प्रचण्डले पहाडमा पीडा हुँदा मधेसले र मधेसमा पीडा हुँदा पहाडले सहयोग गर्ने नेपाली परम्परा सकारात्मक रहेको उल्लेख गर्दै भोटेकोशी बाढीपीडितका लागि मधेसबाट पठाइएको राहतले राष्ट्रिय एकता र सामाजिक सद्भावलाई थप बलियो बनाउने विश्वास व्यक्त गरे।>
पछिल्लो समय नेपालमा जलवायु परिवर्तनको प्रभाव तीव्ररूपमा देखिन थालेको बताउँदै उनले भोटेकोशीमा आएको बाढीको कारण र त्यसबाट भएको क्षतिको वैज्ञानिक अध्ययन आवश्यक रहेको बताए।>
जलवायु परिवर्तनकै कारण नेपालमा यस्ता ठूला विपद् बढिरहेको दाबी गर्दै प्रचण्डले विपद् न्यूनीकरण तथा प्रभावित नागरिकको सहयोगमा सबै पक्ष एकजुट हुनुपर्नेमा जोड दिए।>>