रौतहटको फतुवा बिजयपुर नगरपालिका शिक्षा क्षेत्रको चरम लापरबाहीको नमुना बन्दै गएको छ। वर्षभरि विद्यालयहरूको अवस्था प्रति कुनै चासो नदेखाउने जनप्रतिनिधिहरू परीक्षा नजिकिँदा मात्र “अनुगमन” को नाममा देखावटी गतिविधि गर्दै जिम्मेवारीबाट पन्छिने गरेको आरोप स्थानीय स्तरमा चर्किँदै गएको छ।>
झन् चासोको विषय के छ भने, यस्तो अनुगमनमा कार्यवाहक नगर प्रमुखका पति शेख सेराजको सक्रिय संलग्नता देखिने गरेको स्थानीयको दाबी छ। कुनै आधिकारिक जिम्मेवारी वा पदमा नरहेका व्यक्ति अनुगमन टोलीमा देखिनु स्वयंमा गम्भीर प्रश्नको विषय बनेको छ। यसले अनुगमन प्रक्रिया नै विवादास्पद र गैरजिम्मेवार बन्दै गएको संकेत गर्छ।>
नगरका अधिकांश विद्यालयहरू भौतिक संरचना, शैक्षिक वातावरण र व्यवस्थापनका हिसाबले अत्यन्त कमजोर अवस्थामा छन्। कतिपय विद्यालयहरूमा आधारभूत पूर्वाधारसमेत अभाव छ भने कतै शिक्षक व्यवस्थापन नै प्रभावकारी छैन। तर, यस्तो अवस्था सुधार गर्नुपर्ने निकाय भने औपचारिकता निभाउनमै सीमित देखिन्छ।>
झनै विडम्बना त के छ भने, का.वा नगर प्रमुख खातुन को सन्तपुर स्थित आफ्नै घर अगाडि रहेको एक प्रा.विद्यालयसमेत नाममै सीमित रहेको छ—न त भौतिक सुधार, न त शैक्षिक गुणस्तरमा कुनै प्रगति देखिएको छ। आफ्नै घर नजिकको विद्यालय सुधार गर्न नसक्ने नेतृत्वले सिंगो नगरको शिक्षा सुधार गर्ने प्रतिबद्धता कत्तिको विश्वसनीय हुन्छ भन्ने गम्भीर प्रश्न उठेको छ। >
स्थानीय अभिभावकहरू आक्रोशित हुँदै भन्छन्, “परीक्षा बेला फोटो खिच्न मात्रै आउने अनुगमनले के सुधार हुन्छ? वर्षभरि कसैले हेर्दैन, अनि अन्तिम समयमा नाटक मात्रै।” उनीहरूको गुनासो अनुसार, यस्तो प्रवृत्तिले विद्यार्थीहरूको भविष्यसँग प्रत्यक्ष खेलबाड भइरहेको छ।>
यदि यस्तै लापरबाही, देखावटी अनुगमन र गैरआधिकारिक हस्तक्षेप जारी रहने हो भने, फतुवा विजयपुरको शिक्षा प्रणाली पूर्णरूपमा धराशायी हुने खतरा बढ्दो छ। अब पनि जिम्मेवार निकाय सचेत नभए, यो केवल कमजोरी होइन—आउँदो पुस्तामाथि गरिएको गम्भीर अन्यायको रूपमा लिइनेछ।>>