तराई–मधेशमा आज रंगिएको होली: सद्भाव, समानता र उत्साहको सन्देश

Naya Sansar Online TV 62+ समाचार ( )
१९ फाल्गुन २०८२

रंगहरूको महान् पर्व होली आज तराई–मधेशका जिल्लाहरूमा हर्षोल्लासका साथ मनाइँदै छ। पहाडी र हिमाली भेगमा सोमबार नै ‘फागु पूर्णिमा’का रूपमा मनाइएको यो पर्व तराईमा भने एक दिनपछि मनाउने परम्परा रहिआएको छ। सोही अवसरमा सरकारले आज तराई–मधेशका जिल्लामा सार्वजनिक बिदा दिएको छ।

भौगोलिक क्षेत्रअनुसार होलीको नाम र शैली फरक–फरक पाइन्छ। हिमाली र पहाडी क्षेत्रमा ‘फागु पूर्णिमा’ भनिने यो पर्व तराई–मधेशमा ‘होली’का नामले चिनिन्छ भने मैथिली भाषामा ‘फगुआ’ वा ‘होरी’ भन्ने गरिन्छ। अधिकांश तराई क्षेत्रमा पूर्णिमाको भोलिपल्ट होली मनाइए पनि जनकपुरधाम मा भने अन्तरगृह परिक्रमा सम्पन्न भएको भोलिपल्ट मात्रै होली मनाउने विशेष परम्परा छ।

पन्ध्र दिने मिथिला परिक्रमामा सहभागी तीर्थयात्रीहरूले जनकपुरधामको परिक्रमा पूरा गरी आ–आफ्नो गन्तव्यतर्फ फर्किएपछि यहाँ होलीको रौनक सुरु हुन्छ। यस क्रममा होरी गायन प्रतियोगिता र ‘महामूर्ख सम्मेलन’ जस्ता सांस्कृतिक कार्यक्रमले पर्वलाई अझै जीवन्त बनाउने गर्छन्।

समानता र सद्भावको सन्देश बोकेको होलीले जात, धर्म, भाषा र संस्कृतिको विविधतालाई एउटै रंगमा मिसाउँदै आएको छ। हिन्दू, मुस्लिम, सिख, इसाई, मङ्गोल, किराँत, राई लगायत सबै समुदायबीच एकताको भावना जगाउँदै यो पर्वले समाजमा उमङ्ग र उत्साह थप्ने काम गर्दै आएको छ।

असत्यमाथि सत्य, छलमाथि निष्छलता र अधर्ममाथि धर्मको विजयको प्रतीक मानिने होली वैदिक यज्ञ परम्परासँग पनि जोडिएको छ। मिथिलाञ्चलमा होरीका दिन चीर दहन गरी नयाँ अन्न आगोमा पोलेर प्रसादका रूपमा ग्रहण गर्ने चलनले परम्परागत संस्कारलाई अझ मजबुत बनाएको छ।

प्रतिक्रिया