पूर्व गृहमन्त्री रमेश लेखक पक्राउ, केपी शर्मा ओली विरुद्ध पनि पक्राउ पुर्जी जारी

Naya Sansar Online TV 62+ समाचार ( )
१४ चैत्र २०८२

नयाँ सरकार गठन भएसँगै ठूला राजनीतिक व्यक्तित्वहरूविरुद्ध कारबाहीको प्रक्रिया तीव्र बनेको छ। पूर्व गृहमन्त्री रमेश लेखकलाई प्रहरीले भक्तपुरको कटुन्जेस्थित निवासबाट शुक्रबार पक्राउ गरेको पुष्टि भएको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एक अधिकृतका अनुसार, मन्त्रिपरिषद्को निर्णय लगत्तै प्रहरी सक्रिय बनेको हो। सरकारले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेपछि यो कदम चालिएको हो।

उक्त निर्णयपछि गृहमन्त्री सुधन गुरुङ सुरक्षा निकायका प्रमुखहरूसँग निरन्तर छलफलमा जुटेका थिए। सहमति जुट्न नसकेपछि मध्यराति कानुन मन्त्रालयका सचिव पाराश्वर ढुंगाना लाई प्रहरी मुख्यालय बोलाइएको थियो। त्यसपछि लिखित आदेश तयार पारेर प्रहरीले कारबाही प्रक्रिया अघि बढाएको हो।

यसै क्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध पनि पक्राउ पुर्जी जारी भइसकेको छ। आयोगले तत्कालीन प्रधानमन्त्री ओली, तत्कालीन गृहमन्त्री लेखक तथा तत्कालीन प्रहरी प्रमुख चन्द्रकुवेर खापुङ विरुद्ध फौजदारी अनुसन्धान अघि बढाउन सिफारिस गरेको थियो।

गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे छानबिन गर्दै तयार गरिएको प्रतिवेदन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारलाई बुझाइएको थियो। यद्यपि प्रतिवेदन पूर्ण रूपमा सार्वजनिक नभए पनि यसको केही अंश सञ्चारमाध्यममार्फत बाहिर आइसकेको छ।

मुलुकी फौजदारी संहिताको दफा १८१ र १८२ अनुसार लापरबाहीपूर्ण कार्यबाट ज्यान गएको आरोपमा कारबाही सिफारिस गरिएको हो। सोही आधारमा प्रहरीले अहिले उच्च तहका नेताहरूलाई अनुसन्धानको दायरामा ल्याउने प्रक्रिया अघि बढाएको छ।

नयाँ सरकारको पहिलो बैठकबाटै आएको यो निर्णयले देशको राजनीतिक वृत्तमा ठूलो तरंग पैदा गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार