फागुन २१ गते तय प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई तीव्र बनाउँदै निर्वाचन आयोगले प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ सम्पन्न गरेको जनाएको छ। आयोगका अनुसार २५ जिल्लाका मतपत्र छापिइसकेका छन् र जनक शिक्षा सामग्री केन्द्र, भक्तपुरमा छपाइ कार्य नियमित रूपमा जारी छ।>
यसअघि नै समानुपातिक निर्वाचन प्रणालीतर्फका दुई करोड आठ लाख ३० हजार मतपत्र छपाइ सकिएको आयोगले जनाएको छ। साथै, मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार २०० थान नमूना मतपत्र पनि तयार भइसकेका छन्।>
निर्वाचनलाई स्वच्छ, पारदर्शी र विश्वसनीय बनाउन आयोगले मतदाता शिक्षालाई प्राथमिकतामा राखेको छ। आयोगअन्तर्गतको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको मतदाता शिक्षा एकाइले हालसम्म १५८ वटा सामग्री स्वीकृत गरी सार्वजनिक गरिसकेको छ। ती सामग्री आयोगको आधिकारिक फेसबुक पेज, एक्स, टिकटक र युट्युवमार्फत प्रसारण भइरहेका छन्।>
आयोगका अनुसार यस्ता सामग्रीले मतदाता, राजनीतिक दल, उम्मेदवार र सरोकारवालालाई आधिकारिक सूचना उपलब्ध गराउने, भ्रम र मिथ्या सूचनाको प्रभाव कम गर्ने तथा निर्वाचनप्रति विश्वास अभिवृद्धि गर्ने अपेक्षा गरिएको छ।>
>
यसैबीच, निर्वाचनबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउने उद्देश्यले परराष्ट्र मन्त्रालयमार्फत काठमाडौँस्थित कूटनीतिक नियोग तथा संयुक्त राष्ट्रसंघीय निकायका प्रमुख र प्रतिनिधिलाई ब्रिफिङ गरिएको छ। आयोग र गृह मन्त्रालयका प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा निर्वाचनको वातावरण, आयोगबाट भएका तयारी र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यवेक्षणका विषयमा जानकारी दिइएको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए। >>