साउदीको तेल पाइपलाइनमा ड्रोन हमला, विश्व बजारमा तेल संकटको चिन्ता

Naya Sansar Online TV 75+ समाचार ( )
हर्मुजको विकल्पमाथि आक्रमण : नेपालमा पनि मूल्यवृद्धिको जोखिम
२७ भाद्र २०८३

काठमाडौं । साउदी अरबको महत्वपूर्ण इस्ट–वेस्ट तेल पाइपलाइनमा ड्रोन आक्रमण भएपछि विश्व ऊर्जा बजारमा नयाँ चिन्ता बढेको छ। आक्रमणपछि साउदीले पाइपलाइन अस्थायी रूपमा बन्द गरेको जनाएको छ।

साउदी विदेश मन्त्रालयका अनुसार इराकबाट आएका कैयौँ ड्रोनले रियाद र मदिना क्षेत्रमा रहेको पाइपलाइन तथा सम्बन्धित संरचनालाई निशाना बनाएका थिए। घटनामा केही मानिस घाइते भएको र क्षतिको मर्मत तथा सुरक्षा परीक्षण भइरहेको बताइएको छ।

करिब १ हजार २०० किलोमिटर लामो इस्ट–वेस्ट पाइपलाइनले साउदीको पूर्वी क्षेत्रबाट कच्चा तेल लाल सागरस्थित यान्बु बन्दरगाहसम्म पुर्‍याउँछ। यसले हर्मुज जलडमरूमध्य हुँदै हुने तेल निर्यातको जोखिम केही हदसम्म घटाउँछ। तर यही वैकल्पिक मार्गमा आक्रमण भएपछि मध्यपूर्वको ऊर्जा आपूर्ति थप दबाबमा परेको छ।

विभिन्न विवरणअनुसार पाइपलाइनबाट दैनिक लाखौँ ब्यारेल तेल ओसार्न सकिन्छ। लामो समयसम्म सञ्चालन बन्द रहेमा साउदीको तेल निर्यात र अन्तर्राष्ट्रिय बजारमा आपूर्ति प्रभावित हुनसक्ने चिन्ता छ।

पाइपलाइनमा आक्रमणको खबरसँगै कच्चा तेलको मूल्यमा थप दबाब पर्नसक्ने देखिएको छ। मध्यपूर्वका अन्य समुद्री मार्गसमेत तनावमा रहेका बेला तेल आपूर्ति अवरोधको जोखिम बढेको हो।

साउदीले इराकबाट आक्रमण भएको दाबी गर्दै आवश्यक सुरक्षा कदम चाल्ने अधिकार सुरक्षित रहेको जनाएको छ। इराकले पनि घटनाको अनुसन्धान थालेको बताइएको छ।

तेलको मूल्य बढेमा नेपालजस्ता आयातमुखी मुलुकमा पेट्रोलियम पदार्थ, ढुवानी तथा दैनिक उपभोग्य वस्तुको मूल्यमा समेत असर पर्नसक्ने जोखिम छ।

प्रतिक्रिया

सम्बन्धित समाचार