फतुवा बिजयपुरमा शिक्षा माथि खिल्ली: परीक्षा दिन बोरा बिछ्याएर भुइँमै बस्न बाध्य विद्यार्थी, अनुगमन भने फोटो खिच्नमै सीमित

Naya Sansar Online TV 62+ समाचार ( )
८ चैत्र २०८२

रौतहटको फतुवा बिजयपुर नगरपालिका भित्र शिक्षा क्षेत्रको वास्तविक अवस्था अत्यन्तै लज्जास्पद रूपमा बाहिर आएको छ। परीक्षा सञ्चालन भइरहेका बेला गरिएको अनुगमनकै क्रममा एउटा विद्यालयको कक्षा कोठामा विद्यार्थीहरू बोरा बिछ्याएर भुइँमै बसेर परीक्षा दिइरहेको दृश्य फेला परेको छ, जसले समग्र शिक्षा व्यवस्थामाथि गम्भीर प्रश्न उठाएको छ।

विद्यालयमा न त बेन्च–डेस्कको व्यवस्था छ, न त न्यूनतम शैक्षिक पूर्वाधार। यस्तो आधारभूत आवश्यकता समेत पूरा गर्न नसकिएको अवस्थामा विद्यार्थीहरूलाई परीक्षा दिन बाध्य पारिनु केवल कमजोरी होइन, सीधा लापरबाही र गैरजिम्मेवारीको चरम उदाहरण हो।

झनै गम्भीर पक्ष भनेको, यस्तो दयनीय अवस्था हुँदाहुँदै पनि सम्बन्धित निकायले सुधारतर्फ कुनै ध्यान नदिई अनुगमनको नाममा औपचारिकता मात्र पूरा गर्ने प्रवृत्ति देखिनु हो। कक्षा कोठाभित्र विद्यार्थीहरू भुइँमै परीक्षा दिइरहेका छन्, तर जिम्मेवार पक्षको प्राथमिकता समस्या समाधानभन्दा पनि देखावटी गतिविधिमा केन्द्रित देखिन्छ।

शिक्षा जस्तो संवेदनशील क्षेत्रमा यस्तो स्तरको लापरबाही हुनु कुनै सामान्य विषय होइन। यो प्रत्यक्ष रूपमा विद्यार्थीहरूको भविष्यसँग खेलबाड हो। यदि यस्ता आधारभूत समस्यासमेत समाधान गर्न नसक्ने अवस्था कायम रहने हो भने, फतुवा विजयपुरको शिक्षा प्रणाली क्रमशः धराशायी हुने स्पष्ट संकेत देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार