निर्वाचन आयोगको कडाइ: फागुन २१ को मतदानअघि मौन अवधि सुरु

Naya Sansar Online TV 62+ समाचार ( )
१८ फाल्गुन २०८२

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण बनाउन आज (मंगलबार) बिहान १२ बजेदेखि मौन अवधि लागू गरिएको छ। निर्वाचन आयोगले मतदान हुनुभन्दा ४८ घण्टा अगाडिदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि ‘स्थिर समय’ घोषणा गर्दै चुनावी गतिविधिमा पूर्ण विराम लगाएको हो।

मौन अवधि सुरु भएसँगै अब कुनै पनि राजनीतिक दल, उम्मेदवार वा तिनका प्रतिनिधिले मतदातासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मत माग्न पाउने छैनन्। चुनावी सभा, जुलुस, घरदैलो कार्यक्रम मात्र होइन, सामाजिक सञ्जालमार्फत हुने डिजिटल प्रचारप्रसारसमेत पूर्ण रूपमा प्रतिबन्धित गरिएको छ।

निर्वाचन आचारसंहिता अनुसार मतदान केन्द्रको ३ सय मिटर वरिपरि राखिएका दल वा उम्मेदवारका ब्यानर, झण्डा र पोस्टरहरू हटाउनुपर्ने कानुनी व्यवस्था छ। आयोगले यसलाई कडाइका साथ कार्यान्वयन गराउने जनाएको छ।

निर्वाचनको निष्पक्षता जोगाउन र मतदातामाथि कुनै प्रकारको दबाब वा प्रलोभन नपरोस् भन्ने उद्देश्यले मौन अवधिलाई विशेष संवेदनशील समयका रूपमा हेरिएको छ। यस अवधिमा आर्थिक प्रलोभन, प्रभाव पार्ने गतिविधि वा गोप्य रूपमा मत माग्ने प्रयास हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै आयोगले २४ सै घण्टा सूक्ष्म अनुगमन गरिरहेको जनाएको छ।

आयोगले सबै राजनीतिक दल, उम्मेदवार, सञ्चारमाध्यम र आम नागरिकलाई आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै मौन अवधिमा कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभा–सम्मेलन वा गोष्ठी नगर्न सचेत गराएको छ।

फागुन २१ गते बिहान ७ बजेदेखि सुरु हुने मतदानका लागि आवश्यक सम्पूर्ण प्राविधिक तथा सुरक्षा तयारी पूरा भइसकेको आयोगले स्पष्ट पारेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार