मेलबर्न क्रिकेट ग्राउन्डमा सोमबार सम्पन्न चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतविरुद्ध सफलता हात पारेको छ।

Griha Sewa 7+ समाचार ( )
स्ट्रेलियाले पाँच टेस्टको शृंखलामा २–१ को अग्रता हासिल
१५ पौष २०८१

काठमाडौँ— मेलबर्न क्रिकेट ग्राउन्डमा सोमबार सम्पन्न चौथो टेस्ट क्रिकेटमा अस्ट्रेलियाले भारतविरुद्ध सफलता हात पारेको छ। यो जितसँगै अस्ट्रेलियाले पाँच टेस्टको शृंखलामा २–१ को अग्रता हासिल गरेको छ। अस्ट्रेलिया र भारतबिचको ‘बक्सिङ डे’ टेस्ट विभिन्न कारणले चर्चामा रह्यो।


आफ्नो ‘डेब्यू’ टेस्टमै अस्ट्रेलियाका १९ वर्षीय युवा ब्याट्सम्यान साम कोन्सटसको अर्धशतक, कोन्सटस र भारतका अनुभवी ब्याट्सम्यान विराट कोहलीबिचको विवाद, र भारतका तीव्रगतिका बलर जसप्रित बुमराहको दुई सय टेस्ट विकेटजस्ता कारणले यो टेस्ट निकै चर्चित बन्यो।


यसका अतिरिक्त, यो टेस्टमा दर्शकको नाममा पनि एउटा गजबको कीर्तिमान बन्यो। पाँचौँ दिन सोमबारको खेलमा रंगशालामा उपस्थित दर्शकले ८७ वर्ष पुरानो कीर्तिमान तोडे। चौथो टेस्ट हेर्न पाँच दिनको अवधिमा कुल तीन लाख ५० हजार सात सयभन्दा बढी समर्थक स्टेडियम पुगे।


यसअघि, १९३७ मा यो स्टेडियममा अस्ट्रेलिया र इङ्ल्यान्डबिचको खेल हेर्न पाँच दिनमा कुल तीन लाख ५० हजार पाँच सय ३४ दर्शक उपस्थित भएका थिए।


पहिलो दिन ८७ हजार दुई सय ४२, दोस्रो दिन ८५ हजार एक सय ४७, तेस्रो दिन ८३ हजार ७३, चौथो दिन ४३ हजार आठ सय ६७, र पाँचौँ दिन ५१ हजार तीन सय ७१ दर्शक रंगशाला पुगेका थिए।

यो टेस्ट दुवै टोलीका लागि महत्त्वपूर्ण थियो, किनकि दुवै टोली आईसीसी वर्ल्ड टेस्ट च्याम्पियनसिपको फाइनलमा पुग्ने होडमा थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार