काठमाडौं — अमेरिकाको न्यू अर्लिन्समा नयाँ वर्षको बिहानै भएको पिकअप ट्रक आक्रमणमा परी मृत्यु हुनेको संख्या १५ पुगेको छ। घाइते हुनेको संख्या अझै पनि ३५ भन्दा बढी रहेको अधिकारीहरुको हवाला दिँदै बेलायती समाचार संस्था बीबीसीले जनाएको छ।>
मानव भीडमा जानाजानी पिकअप चलाएर नरसंहार मच्चाउने संदिग्धको पहिचान खुलेको छ। नरसंहार मच्चाउने व्यक्ति टेक्सासका ४२ वर्षीय अमेरिकी नागरिक शमसूद–दीन जब्बार रहेको समाचारमा उल्लेख छ।>
अमेरिकी संघीय जाँच ब्यूरो (एफबीआई) ले आक्रमणमा प्रयोग गरिएको गाडीमा इस्लामिक स्टेट समूहको झण्डा भेटिएको र घटनाको जाँच आतंकवादी क्रियाकलापको रुपमा गरिरहेको जनाएको छ। एफबीआईले आक्रमणकारीको सम्बन्ध अतिवादी समूहसँग रहे नरहेकोबारे थप अनुसन्धान अघि बढाएको जानकारी दिएको छ।>
प्रहरी अधिकारीहरुका अनुसार नरसंहार मच्चाएका जब्बारले अधिकारीहरु माथि गोलीसमेत चलाएका थिए भने ट्रक भएको क्षेत्रमा विष्फोटक उपकरणसमेत भेटिएको थियो।>
घटना भएको फ्रेन्च क्वार्टर क्षेत्र दक्षिणी राज्य लुइसियानामा शहरका आगन्तुकका लागि निकै लोकप्रिय मानिन्छ।>
यो आक्रमणपछि न्यू अर्लिन्सका स्थानीय र पर्यटकहरुमा ठूलो त्रास फैलिएको छ। स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाउँदै जनतालाई सुरक्षित रहन आग्रह गरेको छ।>>