गुजरा नगरपालिका–सिम्राभवानीपुर बजारमा ६४९औँ शिरोमणि गुरु श्री रविदास जन्मोत्सव समारोह उत्साह, श्रद्धा र सामुदायिक एकताका साथ भव्य रूपमा सम्पन्न भएको छ। चमार कल्याण समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा समाजका अगुवा, बुद्धिजीवी तथा समुदायका सदस्यहरूको उल्लेख्य सहभागिता देखिएको थियो।>
कार्यक्रमको अध्यक्षता चमार कल्याण समाज नेपालका उपाध्यक्ष पुनीत रामले गरेका थिए। समारोहका प्रमुख अतिथि गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी र विशिष्ट अतिथि चन्द्रपुर अस्पताल का संचालक सुबास चौधरी रहेका थिए।>
कार्यक्रममा वक्ताहरूले गुरु रविदासको जीवनदर्शन, विचार र समाज सुधारमा उहाँले पुर्याएको योगदानबारे चर्चा गरेका थिए। १५औँ शताब्दीका महान सन्त रविदासले जातीय विभेद, छुवाछुत र सामाजिक अन्यायविरुद्ध आवाज उठाउँदै मानव समानता, श्रमको सम्मान र प्रेमको सन्देश फैलाएका थिए। “मन चंगा तो कठौती में गंगा” जस्ता उनका वाणी आज पनि समाजलाई सकारात्मक मार्गतर्फ डोर्याउने प्रेरणा मानिन्छ।>
अध्यक्षीय मन्तव्य राख्दै पुनीत रामले गुरु रविदासको शिक्षा समुदायलाई आत्मसम्मान, एकता र चेतनातर्फ उन्मुख गराउने बलियो आधार भएको बताए।>
प्रमुख अतिथि सन्तलाल प्रसाद चौधरीले गुरु रविदासको सन्देश वर्तमान समाजमा अझ सान्दर्भिक रहेको उल्लेख गर्दै भने, “हामीले विभेदभन्दा माथि उठेर मानवताको मूल्यलाई आत्मसात गर्नुपर्छ। गुरु रविदासले देखाउनुभएको बाटो सामाजिक सद्भाव र समावेशीताको आधार हो।”>
विशिष्ट अतिथि सुबास चौधरीले गुरु रविदासको विचारले नयाँ पुस्तालाई सही दिशा दिने बताउँदै भने, “इतिहास र आदर्शलाई सम्झँदै समाजलाई शिक्षित, सचेत र एकताबद्ध बनाउनु हाम्रो दायित्व हो। गुरु रविदासको सन्देशले आज पनि समुदायलाई सकारात्मक ऊर्जा दिन्छ।”>
समारोहका क्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना आदानप्रदान तथा सामुदायिक अन्तरक्रियाले कार्यक्रमलाई थप अर्थपूर्ण बनाएको आयोजकले जनाएको छ।>>