जीवन जोगाउने सचेतना: आज विश्व क्यान्सर दिवस

Naya Sansar Online TV 62+ समाचार ( )
२२ माघ २०८२

आज फेब्रुअरी ४, विश्वभर ‘विश्व क्यान्सर दिवस’ विविध चेतनामूलक कार्यक्रमका साथ मनाइँदै छ। क्यान्सरजस्तो जटिल रोगप्रति जनचेतना अभिवृद्धि गर्ने, यसको रोकथाम, समयमै पहिचान र प्रभावकारी उपचारमा जोड दिने उद्देश्यले यो दिवस हरेक वर्ष मनाउने गरिन्छ।

सन् २००० मा फ्रान्सको पेरिसमा आयोजित ‘नयाँ सहस्राब्दीका लागि क्यान्सरविरुद्ध विश्व शिखर सम्मेलन’बाट पारित ‘चार्टर अफ पेरिस अगेन्स्ट क्यान्सर’पछि विश्व क्यान्सर दिवस मनाउने अभियान सुरु भएको हो। त्यसयता विश्वभर स्वास्थ्य संस्था, सरोकारवाला निकाय र समुदायस्तरमा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार हरेक वर्ष लाखौँ मानिस क्यान्सरका कारण ज्यान गुमाउने गर्छन्। धूमपान, तमाखु सेवन, मदिरा दुरुपयोग, अस्वस्थ खानपान, शारीरिक निष्क्रियता र प्रदूषणजस्ता कारण क्यान्सरका प्रमुख जोखिम कारकका रूपमा चिनिन्छन्।

विशेषज्ञहरूका अनुसार क्यान्सर समयमै पहिचान भएमा उपचार सम्भव हुने भएकाले नियमित स्वास्थ्य परीक्षण, सन्तुलित आहार, व्यायाम र हानिकारक बानीबाट टाढा रहनु अत्यन्त जरुरी छ। चेतना, सावधानी र समयमै उपचार नै क्यान्सरविरुद्धको सबैभन्दा प्रभावकारी हतियार मानिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार