मौलापुर अस्तव्यस्त बनेको भन्दै मेयर रिना साहको प्रधानमन्त्रीलाई ५ बुँदे अपिल ‘हाकिमविहीन नगरपालिकामा तलबदेखि विकाससम्म ठप्प, समस्या समाधान गर्नुस्’

Naya Sansar Online TV 80+ समाचार ( )
३० भाद्र २०८३

रौतहट । मौलापुर नगरपालिकाकी मेयर रिना कुमारी साहले संघीय सरकारको हस्तक्षेप र प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण नगरपालिका अस्तव्यस्त बनेको भन्दै प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष ५ बुँदे सार्वजनिक अपिल गरेकी छन् ।

प्रधानमन्त्रीलाई सम्बोधन गर्दै जारी गरिएको अपिलमा मेयर साहले नगरपालिकामा कर्मचारीको तलब, जनप्रतिनिधिको सुविधा, वडा सञ्चालन खर्च, विकास निर्माण तथा जनजीविकासँग जोडिएका सेवाहरू प्रभावित भएको उल्लेख गरेकी छन् ।

९० प्रतिशतभन्दा बढी प्रगतिबाट ५०.६८ प्रतिशतमा झर्‍यो बजेट खर्च

मेयर साहले आफ्नो पहिलो कार्यकालको आर्थिक वर्ष २०७४/०७५ देखि आ.व. २०८१/०८२ सम्म नगरपालिकाले ९० प्रतिशतभन्दा बढी वित्तीय तथा भौतिक प्रगति गर्दै आएको दाबी गरेकी छन् ।

तर संघीय सरकार गठनपछि नगरपालिकामाथि अनुचित हस्तक्षेप र कुदृष्टि परेको भन्दै उनले गत आ.व. २०८२/०८३ मा बजेट खर्च ५०.६८ प्रतिशतमा झरेको बताएकी छन् ।

उनका अनुसार संघीय सरकारले नगरपालिकामा खटाएका उपसचिव प्रमुख प्रशासकीय अधिकृतले विद्युत्, खानेपानी, सिँचाइ महसुल, एकीकृत दलित बस्ती निर्माण, पशु पकेट विकास, बहुक्षेत्रीय पोषण कार्यक्रम तथा खानेपानीका लागि डिप बोरिङजस्ता योजनालाई अघि बढाउन चासो नदिएको आरोप लगाएकी छन् ।

यसका कारण दलित, विपन्न, सीमान्तकृत समुदाय, कृषक तथा सुख्खाबाट प्रभावित नागरिक सेवाबाट वञ्चित हुनुपरेको उनको भनाइ छ ।

हाकिमविहीनताले बजेट अधिवेशनदेखि विकाससम्म असर

मौलापुर नगरपालिकाले स्थापनाकालदेखि प्रत्येक वर्ष असार मसान्तभित्र नगरसभाका बजेट अधिवेशन सम्पन्न गर्दै आएको भए पनि १०औँ बजेट अधिवेशन प्रमुख प्रशासकीय अधिकृतको अभावका कारण समयमै पारित हुन नसकेको मेयर साहले उल्लेख गरेकी छन् ।

उनले २०८३ साल असार १२ गतेदेखि सम्पर्कविहीन रहेका प्रमुख प्रशासकीय अधिकृतलाई खोज्न असार २२ गते मन्त्रालय पुगे पनि सचिव र मन्त्रीबाट भेट नपाएको गुनासो गरेकी छन् ।

सम्पर्कविहीन अधिकृतलाई कारबाही गरी कार्यालय फर्काउनुको सट्टा अन्यत्र सरुवा गरिएको र त्यसका कारण जनजीविकासँग जोडिएका करोडौँ रुपैयाँ खर्च हुन नसकी फ्रिज भएको उनले आरोप लगाएकी छन् ।

असार मसान्तपछि साउन ४ गते कार्यालयमा हाजिर भएका प्रमुख प्रशासकीय अधिकृत भदौ ५ गतेदेखि पुनः बिनाजानकारी अनुपस्थित रहेको भन्दै उनले नगरपालिका अझै हाकिमविहीन अवस्थामा रहेको बताएकी छन् ।

प्रधानमन्त्री शाहलाई आफ्नै विगतको अनुभव स्मरण

मेयर साहले प्रधानमन्त्री बालेन्द्र शाह काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा प्रमुख प्रशासकीय अधिकृतविहीनताको समस्या भोगिसकेको स्मरण गराएकी छन् ।

उनले सोही अनुभवलाई आत्मसात गर्दै मौलापुर नगरपालिकालाई थप अस्तव्यस्त हुनबाट जोगाउन तत्काल प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न माग गरेकी छन् ।

यस्ता छन् मेयर साहका ५ बुँदे माग

१. कर्मचारीको तलब र जनप्रतिनिधिको सुविधा भुक्तानी

कर्मचारीको २ महिनादेखि ८ महिनासम्मको तलब, जनप्रतिनिधिको ४ महिनाको सुविधा तथा वडा सञ्चालन खर्च ८ महिनादेखि भुक्तानी हुन बाँकी रहेको भन्दै उनले समस्या समाधानको माग गरेकी छन् ।

प्रधानमन्त्री शाहले काठमाडौं महानगरपालिकामा कर्मचारीको तलब भुक्तानीमा दिएको अभिव्यक्ति स्मरण गराउँदै उनले आफ्ना कर्मचारीको तलब भुक्तानीका लागि जिम्मेवार को हुने भन्दै प्रश्न गरेकी छन् ।

२. एकीकृत दलित बस्ती निर्माण सुचारु गर्न माग

मौलापुर–९ सोनरनियामा निर्माणाधीन एकीकृत दलित बस्तीको भुक्तानी नभएका कारण आयोजना अवरुद्ध भएको उनले बताएकी छन् ।

विपन्न दलित समुदायले सुविधा सम्पन्न आवास पाउने सपना पूरा हुन नसक्ने अवस्था देखिएको भन्दै उनले निर्माण कार्य अघि बढाउन माग गरेकी छन् ।

३. निःशुल्क विद्युत् तथा खानेपानी महसुलको समस्या समाधान

नगर गौरवका रूपमा २०७८ सालदेखि निरन्तर पारित हुँदै आएको निःशुल्क विद्युत् तथा पानी कार्यक्रमका ५ हजारभन्दा बढी लाभग्राहीको विद्युत् महसुल भुक्तानी नभएको उनले उल्लेख गरेकी छन् ।

सर्वोच्च अदालतको आदेशपछि पनि महसुल भुक्तानी नभएको भन्दै नेपाल विद्युत् प्राधिकरण मौलापुर वितरण केन्द्रले जनताको विद्युत् लाइन काट्न थालेको आरोप लगाउँदै उनले यसबाट उत्पन्न हुन सक्ने अप्रिय घटनाको जिम्मेवारी कसले लिने भन्दै सरकारसँग जवाफ मागेकी छन् ।

४. ‘छोरीसँग मेयर’ कार्यक्रमको अनुदान भुक्तानी

२०७४ सालदेखि नगरसभाबाट सर्वसम्मत पारित हुँदै आएको ‘छोरीसँग मेयर’ कार्यक्रमअन्तर्गत गत आर्थिक वर्षको ३ सयभन्दा बढी विपन्न लाभग्राहीको छोरी विवाह अनुदान भुक्तानी हुन बाँकी रहेको उनले बताएकी छन् ।

अनुदानका लागि दैनिक कार्यालय धाउने अभिभावकहरू रित्तो हात फर्किनुपरेको भन्दै उनले विपन्न परिवारको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् ।

५. इन्धन, इन्टरनेट तथा सरसफाइ सेवाको व्यवस्था

नगरपालिकामा पेट्रोल पम्पले इन्धन उपलब्ध नगराउने, चिया पसलले अतिथि सत्कारका लागि चिया दिन छाडेको तथा इन्टरनेट काटिएका कारण अनलाइन सेवाहरू प्रभावित भएको मेयर साहले उल्लेख गरेकी छन् ।

फोहोरमैला तथा नाला व्यवस्थापन नहुँदा चाडपर्वको समयमा नगरपालिका दुर्गन्धित बनेको र शिक्षक, कर्मचारी तथा स्वास्थ्यकर्मी आन्दोलनमा जाने अवस्था सिर्जना भएको उनले बताएकी छन् ।

प्रधानमन्त्री शाहको ‘सुशासनका लागि शून्य सहनशीलता’ भन्ने नारालाई स्मरण गर्दै मेयर साहले मौलापुरमा सरकारको कस्तो सुशासन कायम भइरहेको हो भन्ने प्रश्न गरेकी छन् ।

उनले नगरपालिका सञ्चालनमा देखिएका समस्या तत्काल समाधान गरी प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न तथा नागरिकका आधारभूत सेवा सुचारु गर्न प्रधानमन्त्रीसमक्ष आग्रह गरेकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार