खर्क तथा चरन क्षेत्र व्यवस्थित गरी ऊन, दूध र मासु उत्पादन बढाउनुपर्छ : पूजा चौधरी

Naya Sansar Online TV 80+ समाचार ( )
३० भाद्र २०८३

काठमाडौं । राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिकी सभापति पूजा चौधरीले नेपालका खर्क तथा चरन क्षेत्रलाई व्यवस्थित गर्दै पशुजन्य उत्पादन बढाउनुपर्ने बताएकी छन् ।

खर्क तथा चरन क्षेत्रको उत्पादनशीलता बढाउन सके ऊन, दूध र मासुजन्य पदार्थको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन तथा निर्यात प्रवर्द्धन गर्न सकिने उनको भनाइ छ ।

‘नेपाल र भुटानका खर्क तथा चरन क्षेत्रको पुनर्स्थापना कार्यक्रमबाट प्राप्त अनुभवलाई नेपालको खर्क नीतिमा रूपान्तरण’ सम्बन्धी बहुसरोकारवाला छलफल कार्यक्रममा बोल्दै सभापति चौधरीले खर्क क्षेत्र पशुपालन र हिमाली समुदायको जीविकोपार्जनको आधार मात्र नभई देशको उत्पादन र अर्थतन्त्रसँग जोडिएको महत्वपूर्ण स्रोत भएको बताइन् ।

उनले खर्क तथा चरन क्षेत्र जैविक विविधता संरक्षण, जलाधार संरक्षण, वातावरणीय सन्तुलन र जलवायु उत्थानशीलताका दृष्टिले समेत महत्वपूर्ण रहेको उल्लेख गरिन् ।

चौधरीका अनुसार खर्कबाट उत्पादित ऊन, दूध तथा मासुजन्य पदार्थको उत्पादन र प्रयोग बढाउन सके स्वदेशी उत्पादनलाई प्रोत्साहन मिल्नुका साथै आयात घटाउने र निर्यात विस्तार गर्ने सम्भावना रहन्छ ।

तर जलवायु परिवर्तन, भूक्षयीकरण, कमजोर व्यवस्थापन, श्रम अभाव तथा संस्थागत समन्वयको कमीका कारण खर्क तथा चरन क्षेत्रले विभिन्न चुनौती सामना गरिरहेको उनले बताइन् ।

राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले राष्ट्रिय खर्क नीति संशोधनका लागि अध्ययन प्रारम्भ गरेको जानकारी दिँदै सभापति चौधरीले नीति निर्माणमा भुटानको अनुभव, नेपालका स्थानीय अभ्यास, वैज्ञानिक प्रमाण तथा सरोकारवालाका सुझावलाई आधार बनाइने बताइन् ।

उनले छलफलबाट प्राप्त सुझावले नेपालको खर्क नीति सुधार तथा पशुपालन क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन् ।

प्रतिक्रिया